कैलालीमा झण्डै आधा किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको विष्टले बताए।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समिर सिजापतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भवानी बसका कण्डक्टर हुन् भने राजु शैलेश्वर सुनचाँदी पसलमा काम गर्छन्।
उनीहरू दुई जनामाथि प्रारम्भिक सोधपुछपछि कुल ४४९.९५ ग्रामको दुई वटा सुनका बाला शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापतीलाई दिएको खुलेको हो। उनीहरूबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीका लागि पक्राउ गरिएको सुन, नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने प्रहरी कार्यालयले जनाएको छ।