मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउन मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ।
कुनै समस्या र बाधा अवरोध नआए १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए।
गत असार १ र त्यसपछि लगातार रूपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ। बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।
मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ। बाढीपहिराका कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडौं रूपैयाँको क्षति भएको बताइएको छ।