ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु भएको छ।
सिद्धचरण नगरपालिका वडा नम्बर ५ चित्रेका ४२ वर्षीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए।
उनीसँग झगडा गर्ने सोही स्थान वर्णालुका ६३ वर्षीय आङ्गुबु शेर्पा गम्भीर घाइते छन्।
प्रहरी निरीक्षक पोखरेलका अनुसार उनीहरू दुई जनाबीच गएराति बाटोमै कुटाकुट भएको हो।
दुबै जनाले ढुंगाले हानेर एकअर्कासँग झगडा गरेको उनले बताए।
'दुबै जनाको टाउको, हात खुट्टामा चोट लागेको छ। एकअर्कालाई ढुंगाले हिर्काएर झगडा गरेका थिए,' प्रहरी निरीक्षक पोखरेलले भने।
झगडापछि गम्भीर घाइते बनेका दुबै जनालाई राति नै सामुदायिक मिसन अस्पताल ओखलढुंगा पुर्याइएको थियो। त्यहाँ पासाङको उपचारको क्रममा मृत्यु भएको थियो।
आङ्गुबु शेर्पा पनि अहिले सोही अस्पतालमा उपचाररत छन्।
'उनी अहिले गम्भीर घाइते छन्। बोल्न सक्ने अवस्थामा छैनन्। रिफर गरेर अन्त लग्ने कुरा भइरहेको छ,' उनले भने।
उनका अनुसार उनीहरू दुबै जनाले मादक पदार्थ सेवन गरेका थिए। एकै गाउँका उनीहरूबीच किन झगडा भयो भन्ने कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ।
अहिले प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताइएको छ।