कागजात किर्ते गरी नेपाली नागरिकता बनाउन खोजेको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
भारत घर भएका ज्वाइँलाई छोरा भन्दै कागजात किर्ते गरी नेपाली नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरासहित तीन जना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
राजविराज नगरपालिका वडा नम्बर १५ बस्ने देवन यादव, उनका ज्वाइँ पर्ने भारतीय नागरिक शिवनन्दन र कागजात किर्ते गरिदिने सञ्जीवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
ससुरा देवनले आफ्नो ज्वाइँ शिवनन्दनलाई छोरा बनाई नेपाली नागरिकता लिन खोजेका थिए। सञ्जीवकुमारले वडा १५ का वडाध्यक्षको हस्ताक्षर, कार्यालयको छाप, लेटर प्याड समेत किर्ते गरेको प्रहरीले जनाएको छ।
त्यसरी कागजातसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा जाँदा उनीहरू पक्राउ परेका थिए।
अनुसन्धानपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।