सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा समिति बनेको छ।
प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको थियो। छानबिन समितिमा दुई जना प्रहरी नायब उपरीक्षक र एक जना जिल्ला बार एशोसियसनका अध्यक्ष पनि रहेको सिडिओ अरूण पोखरेलले जानकारी दिए।
'अहिले चार सदस्यको समिति बनेको छ। तर हामीले अरू दुई जना थपिन सक्ने पनि भनेका छौं,' उनले भने।
उनका अनुसार समितिमा पीडित पक्ष र पत्रकार समेतलाई राख्न लागिएको हो। यद्यपी उनीहरूको प्रतिनिधित्व कसले गर्छन् भन्ने खुलिसकेको छैन।
'हामीले जिल्ला पत्रकार महासंघबाट एक जना र पीडित पक्षबाट एक जनालाई नाम पठाउन भनेका छौं। तर अहिलेसम्म प्राप्त भएको छैन। भोलि आयो भने समितिमा जोडिन सक्नुहुन्छ,' पोखरेलले भने।
तामाङको मृत्यु प्रहरीकाे कुटपिटबाट भएको भन्दै पीडित पक्षले आइतबार बाह्रबिसे बजारमा प्रदर्शन समेत गरेको थियो। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए।
मृतक तामाङको शरीरमा चोटपटक देखिएको भन्दै पीडित पक्षले उनको कुटपिटबाटै मृत्यु भएको दाबी गरेका छन्। तर प्रहरीले उनीमाथि कुटपिट नभएको बताएका छन्।
'उनीमाथि कुटपिट भएको छैन। प्रहरीले उनलाई कुटपिट गर्नु जरूरी नै थिएन। किनकि उनी आफैँले चोरी गरेको भनेर स्वीकारेका छन्,' प्रहरी उपरीक्षक राजन अधिकारीले भने।
तामाङलाई गत शुक्रबार बिहान धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले गत १८ गते नियन्त्रणमा लिएको थियो।
उनीमाथि एक जनाको एक लाख, सहकारीमा फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरी गरेको आरोप थियो।
प्रहरीका अनुसार उनी सुरूकै दिनदेखि बिरामी थिए।
'पक्राउ गरेकै दिन देखि बिरामी हुनुभयो। पक्राउ गर्दा नाकबाट रगत बगेको थियो। त्यो दिन स्वास्थ्य चौकीमै राख्यौं। त्यसपछि प्रत्येक दिन उहाँलाई अस्पताल लगिएको थियो,' प्रहरी नायब उपरीक्षक बस्नेतले भने, 'एकदमै धेरै रक्सी चुरोट खाने कारण बिरामी हुनुभएको रहेछ। रक्सी खान नपाएपछि गाह्रो हुने भनिएको छ।'
त्यसरी बिरामी हुँदा उनलाई पटकपटक उपचार गराउन लग्ने-ल्याउने भइरहेको बस्नेतले बताए। तर २२ गते बिहान भने उनलाई प्रहरीले छटपटाइरहेको अवस्थामा फेला पारेको बस्नेतले बताए।
'बिहान छटपटाइरहेको अवस्थामा फेला पर्यौं। त्यहाँबाट स्वास्थ्य चौकीमा लग्यौं। चौकीले अस्पताल लग्नु पर्छ भनेको हुँदा हामीले धुलिखेल अस्पताल लगेका थियौं,' बस्नेतले भने,'तर त्यहाँ पुगेपछि तुरून्तै मृत्यु भयो।'
अहिले शव पोष्टमार्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।
प्रहरी हिरासतमा हुँदा पनि मृतक तामाङले अस्वभाविक व्यवहार देखाउने गरेको प्रहरीले जनाएको छ।
'रक्सी नभएपछि उहाँले अस्वभाविक व्यवहारहरू देखाउने गरेको भन्ने छ,' बस्नेतले भने,'कुटपिट पनि भए, नभएको भन्ने पोष्टमार्टम नभएको हुँदा भन्न सकिन्न। त्यसैले हामीले बोल्न पनि मिलेन। उहाँले आफ्नाे टाउको, हात ठोक्काउने, लगायत गतिविधि दैनिकजस्तो गर्नुहुन्थ्यो। उहाँको दिमागी हालत नै त्यस्तो भएको देखियो।'
बिरामी भएको भन्ने जानकारी परिवार समेतलाई पनि दिइएको प्रहरीको भनाइ छ। प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।