विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आफूहरुले पाउँदै आएको सुविधा राष्ट्रिय चिकित्सा शिक्षा आयोगले हटाएको भन्दै प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले विरोध गरेका छन्।
प्रतिष्ठानका शिक्षक कर्मचारीका सन्तानलाई हरेक वर्ष एउटा निःशुल्क अध्ययन गर्न पाउने कोटा र एउटा शुल्क कोटा रहेको थियो। तर त्यो कोटा खारेज गरेकोमा प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले विरोध गरेका हुन्।
आयोगको निर्णयले आफूहरुमाथि अन्याय भएको प्रतिष्ठानका चिकित्सक डा. विष्णु पोखरेलले बताए।
‘२८ वर्ष अगाडि खुलेको प्रतिष्ठानका शिक्षक एवं कर्मचारीका लागि फ्याकल्टी रिटेर्न गर्न छुट्याइएको विशेष सुविधा हठात् कटौती गरिन्छ तर केही वर्ष अगाडि मात्रै खोलिएको नेपाल आर्मीको कलेजलाई ४९ प्रतिशतसम्म आरक्षण छुट्टाइन्छ, यो गलत छ’ उनले भने ‘जबसम्म यो विभेद रोकिँदैन तबसम्म हामी भर्ना लिन असमर्थ छौं भन्न सक्नुपर्दछ। यही सुविधाको आशमा कैयन हाम्रा शिक्षक एवं कर्मचारीहरु वर्षौंदेखि प्रतिष्ठानमा कार्यरत छन्। यसरी हठात् रुपमा हटाइनु उहाँहरुप्रति गरिएको अन्याय नै हो।’
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,आइओएम र पाटन विज्ञान प्रतिष्ठान सँगै हुनुपर्ने पोखरेलले बताए।