इटहरीमा फेला परेको ग्रिनेड बम नेपाली सेनाले निष्कृय पारेको छ।
इटहरी उपमहानगरपालिका-२ स्थित अन्नपूर्ण मार्गमा बम फेला परेको थियो।
शनिबार बिहान अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा बम फेला परेको हो।
बिहान करिब ८ बजे सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फेला पारेका थिए।
स्थानीयले बमजस्तै शंकास्पद वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो।
बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
अन्नपूर्ण मार्गमा ल्याइएको उक्त गिट्टी सेउती खोलादेखि ल्याएको बुझिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।