झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित कोरोना विरूद्धको खोप लगाउने अभियानमा एम्बुलेन्स चालक बञ्चित भएका छन्।
सतासीधाम स्वास्थ्यचौकी खोप केन्द्रमा एम्बुलेन्स लिएर खोप लगाउन पुगेका शिवसताक्षी नगरपालिका- ८ का दुर्गा खरेल ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन बञ्चित भए। वडा नम्बर ११ का वडाध्यक्ष भैरव कुमार श्रेष्ठले आफूलाई खोप लगाउन रोकेको उनले सेतोपाटीलाई बताए।
दाहाल बन्धु सेवा समितिको मे १ ख १३३३ नम्बरको एम्बुलेन्स चलाउँदै आएका चालक खरेल नगरका कोरोना संक्रमितलाई घरबाट अस्पताल र अस्पतालबाट घरसम्म ल्याउने काम गरिरहेका छन्। ‘कतिपय संक्रमित उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै बाटोमै एम्बुलेन्स भित्र मृत्यु भएका पनि छन् । जोखिम मोलेर हामी चालक सेवा गर्ने अनि खोप चै नदिने,’ उनले आक्रोश पोखे।
यसअघिका खोप कार्यक्रममा बिरामी बोकेर भरतपुर चितवन गएकाले छुटेको उनले बताए। ‘मैले सबै कुरा भन्दा पनि वडाध्यक्षले पटक्कै मान्नु भएन, एम्बुलेन्स चालक कोरोना महामारीको बेला अग्रपङ्क्तिमा काम गर्ने होइनन् र ?,’ उनले भने।
दिउँसो १ बजे पुगेका उनी अपरान्ह ४ बजेसम्म लाइनमा बसे पनि खोप नपाएपछि फर्किएका थिए। नगरस्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकमा यसअघि लक्षित वर्गमा छुटेका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई व्यवहारिकता हेरी खोप लगाउन दिने निर्णयसमेत भएको हुँदा उनी खोपका लागि पुगेका थिए।
‘खोप केन्द्रमा अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि थिए। स्वास्थ्यकर्मी पनि थिए। सबैले एम्बुलेन्स चालकलाई खोप दिन आग्रह गरिरहँदा वडाध्यक्षले उमेर नपुगेको भन्दै रोके। वडाध्यक्षले रोकेपछि स्वास्थ्यकर्मीले खोप लगाउँनै मानेनन्’, उनले भने।
एम्बुलेन्स चालकले खोप नपाएपछि खोप हान्न गएका कतिपयले वडाध्यक्षको आलोचनासमेत गरेका थिए। ‘बरू हामी लगाउँदैनौं, एम्बुलेन्स चालकलाई खोप देऊ,’ खोप केन्द्रमा उपस्थित केही स्थानीयले यसो भन्दा पनि वडाध्यक्षले मानेनन्।
यसैबीच नगरपालिकाका प्रवक्ता नवीन इजमले महामारीका बेला अग्रपंक्तिमा काम गर्ने एम्बुलेन्स चालकलाई खोप नदिएको कुराले आफूलाई दुःखी बनाएको बताए।‘यस्तो बेलामा स्वास्थ्य क्षेत्रको अग्रभागमा काम गर्ने जो कोहीलाई पनि व्यवहारिकता हेरि खोप लगाउन दिनुपर्छ,’ उनले भने।