नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा सञ्चालित यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शान्ति गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर)लाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनोट समितिको सिफारिशअनुसार महासङ्घको बैठकले उनीहरूको नाम अनुमोदन गरेको फोनिजका अध्यक्ष एमबी आस्थाले जानकारी दिए। पुरस्कार राशि जनही २५ हजार तथा सम्मानपत्र रहेको छ। गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत छन् भने मगर नवलपुरको देवचुली टिभीमा कार्यरत छन्। यही साउन २७ मा आयोजना गरिने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने भएको छ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले सो पुरस्कार स्थापना गरेका हुन्।गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ । यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापालाई पुरस्कार प्रदान गरिएको थियो । रासस