प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छलेको ११ लाख १८ हजार रूपैयाँ बराबरको सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय लुम्बिनी, मझगावा र मंगलपुरको टोलीले मंगलबार भन्सार छलेको सामग्रीहरू बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले मोबाइल सेट, इयरफोन, ब्याट्री गरी ८ लाख २० हजार बराबरको सामग्री बरामद गरेको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालयको टोलीले ब्रोइलर कुखुरा ल्याएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। त्यसबाट ७५ हजार रूपैयाँ जरिवाना संकलन भएको र आयातमा संलग्न गरिएका तीन वटा मोटरसाइकलबाट एक लाख ८० हजार रूपैयाँ संकलन भएको छ।
भारतबाट कुखुरा ल्याएको आरोपमा रोहिणी गाउँपालिका-४ का मुवारक मुसलमान, नजरे आलम र अनिल बानियाँ पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मझगावाको टोलीले ३३ हजार बराबरको कपडा र मंगलापुरको छोली १० हजार बराबरको चार बोरा चिनी बरामद गरेको छ।
बरामद सामग्री भन्सार कार्यालय बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ।