सरकारले गठन गरेको वार्ता टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीबीच मंगलबारबाट वार्ता सुरु भएको छ।
सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीसँग वार्ता गर्न सोमबार डाक्टर कृष्णप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको थियो। मंगलबार धरान आइपुगेको टोली र संयुक्त संघर्ष समितिबीच पहिलो चरणको वार्ता भएको हो।
‘हामीले वार्ता टोलीसँग आफ्नो बटमलाइन र मागहरु प्रष्टसँग राखेका छौं’, संयुक्त संघर्ष समितिका डा. अमृत जैसीले भने ‘उहाँहरुले कुरा सुन्नुभयो र, मन्त्रालयमा व्रिफिङपछि फेरि वार्तामा बस्ने कुरा भएको छ।’
पौडेलको संयोजकत्वको वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेत र प्रशासनका अधिकृत देवराज भण्डारी सदस्य छन्।
प्रतिष्ठानमा ५० दिनदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुले प्रतिष्ठानका पदाधिकारीसँग वार्ता नगर्ने अडानसहित उच्चस्तरीय वार्ता टोलीको माग गर्दै आएका थिए। आन्दोलनकारीले विपीका पदाधिकारीहरुको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन्।