मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी मंगलबार डिस्चार्ज भएका छन्। डिस्चार्ज भएपनि उनको खुट्टा र हातको नियमित थेरापी गर्नुपर्ने र स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा रहने जिसीका प्रेस संयोजक माधव बरालले बताए।
पोखरास्थित घरमै बिहान ४ बजेतिर उनलाई मस्तिष्कघात भएको थियो। पोखराकै मणिपाल शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपश्चात मेयर जिसीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। न्युरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो। अहिले मेयर जिसी बोल्न सक्ने अवस्थामा रहेको प्रेस संयोजक बरालले बताए।
कोरोना संक्रमणको उच्च जोखिम रहेकाले मेयर जिसीसँग भेटघाटका लागि कष्ट नगर्न पनि उनको सचिवालयले आग्रह गरेको छ। अस्पतालबाट डिस्चार्ज भएपछि मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको घरमा आराम गरिरहेका छन्। उपचारमा संलग्न स्वास्थ्यकर्मीले कम्तिमा २ महिनापछि मात्र मेयर जिसी हिँडडुल गर्न सक्ने बताएका उनको सचिवालयले जनाएको छ।