अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणिकरण गर्नु नपर्ने भएको छ।
आइतबार विभागले प्रेस विज्ञप्ति जारी गरी विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई समेत सोबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु नपर्ने जनाएको छ।
आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालहरूबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाइदिन भनेको हो।
यसअघि विदेश जाने कामदार र विद्यार्थीहरूले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिएपनि त्यसलाई पुनः कन्सुलर विभागबाट पनि प्रमाणीकरण गर्दै आएका थिए।
पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ।
खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने भएपछि अहिले सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका हुन्।