विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग राखेर ४६ दिनदेखि आन्दोलनरत चिकित्सक विद्यार्थी र कर्मचारीहरुले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
४६ दिनसम्मको शान्तिपूर्ण आन्दोलनलाई राज्यले नदेखेझैं गरेको आरोप लगाउँदै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा प्रभावित हुने गरी नयाँ आन्दोलन घोषणा गर्ने चेतावनी दिए।
प्रतिष्ठानको समस्या र आन्दोलनबारे राजनीतिक दलका नेताहरुसँग आयोजना गरिएको भर्चुअल छलफलमा सहभागी नेताहरुले स्वास्थ्य सेवा प्रभावित पारेर आन्दोलन नगर्न सुझाव दिएका थिए। एमाले नेता भीम आचार्य, माओवादी नेता गणेश साह लगायतले आन्दोलनकारीको माग जायज रहेको तर जनतालाई दुःख दिने गरी आन्दोलन नगर्न सुझाव दिए।
जवाफमा आन्दोलनकारीले धैर्यताको बाँध टुटेको बताएका थिए। ‘हामी ४६ दिनदेखि सत्याग्रहपूर्ण आन्दोलनमा छौं’, प्रतिष्ठानस्थित संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने ‘हाम्रो यस्तो आन्दोलनलाई राज्यले देखेको नदेख्यै गरेको छ। अब हामी बाध्य भएर स्वास्थ्य सेवा रोकेरै आन्दोलनको तयारीमा लागेका छौं।’
संयुक्त संघर्ष समितिले सरकारलाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिने र उक्त समयमा माग पूरा नभए कोभिड उपचारबाहेकका सेवा ठप्प पार्ने तयारी गरेको चिकित्सक बताउँछन्। ‘आइतबार वा मंगलबार मध्ये एक दिन रोजेर यो आन्दोलनको घोषणा हुनेछ’, समिति स्रोतले भन्यो ‘शालिन आग्रहलाई सरकारले सुनेन भने अब स्वास्थ्य सेवा ठप्प नपारे हामीसँग अर्को विकल्प छैन।'
आन्दोलनकारीले उपकुलपतिसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको पदमुक्ति, विपी प्रतिष्ठानभित्रको अनियमितता छानविन, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन्।
यसबीचमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको छानबिन समिति धरान आएर सर्वपषीय छलफल गरेर फर्केको थियो। समितिले तयार पारेको प्रतिवदेन अझै सार्वजनिक भएको भने छैन।