दाङको तुलसीपुरस्थित सोनापुर सिमेन्ट प्रा.लि.ले आफ्नो उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।
तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित उद्योग परिसरमा दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गरिएको हो।
सोनापुर सिमेन्ट उद्योगका महाप्रवन्धक हरि पाठकले एक महिना भित्रमा अक्सिजन उत्पादन सुरु हुने जानकारी दिए।
हाल जिल्लामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै २ सय, दाङ अक्सिजन उद्योगले १५० गरि जम्मा झन्डै ८ सय सिलिण्डर अक्सिजन दैनक उत्पादन क्षमता राख्छन्। तर, ती मध्ये तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट स्थापना हुन बाँकी नै छ।
यसैबीच उद्योगमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निरीक्षण गरेका छन्।
कोरोना भाइरसको दोस्रो लहरको क्रममा दाङमा अक्सिजन सिलिण्डरको ब्यापक अभाव भएको थियो। बाँकेबाट किनेर ल्याउनु पर्ने अक्सिजन प्राप्त नहुँदा बिरामीहरु तड्पिनुपर्ने अवस्था थियो। भविस्यमा त्यस्तो कहालीलाग्दो अवस्था आइनलागोस भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले बताए।