दाङको तुलसीपुरमा रहेको सोनापुर सिमेन्ट प्रालिले उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासस्थित उद्योग परिसरमा दैनिक चार सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना भएको छ।
सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले अब एक महिनाभित्र अक्सिजन उत्पादन सुरु गरिने जानकारी दिए।
हाल जिल्लामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले झन्डै २ सय, दाङ अक्सिजन उद्योगले एक सय ५० गरेर झन्डै ८ सय सिलिण्डर अक्सिजन दैनिक उत्पादन गर्न सकिने क्षमता छ।
तर तीमध्ये तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट स्थापना हुन बाँकी नै छ। यसैबीच उद्योगमा स्थापना भएको अक्सिजन प्लान्टको बिहीबार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निरीक्षण गरेका छन्।
कोरोना भाइरसको दोस्रो लहरको क्रममा दाङमा अक्सिजन र सिलिन्डरको पनि अभाव भएको थियो। बाँकेबाट किनेर ल्याउनु पर्ने अक्सिजन प्राप्त नहुँदा बिरामीले समस्या भोगेका थिए।
अब भविष्यमा त्यस्तो समस्या नपरोस् भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले जानकारी दिए।