महोत्तरीमा एक बालकको शव फेला परेको छ।
बिहीबार रामगोपालपुर नगरपालिका वडा नम्बर ६ बस्ने ५ वर्षीय रितेशकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
उनको शव घरभन्दा करिब ४० मिटर पश्चिममा रहेको चनु साह तेलीको बगैँचामा फेला परेको हो।
स्थानीयले बालकको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक विष्टका अनुसार घटना शंकास्पद छ। बालकको हत्या गरिएको हुनसक्ने उनको भनाई छ।
'घटना शंकास्पद छ। बालकको घाँटीमा दाग देखिएको छ,' उनले भने, 'केको दाग हो भन्ने खुलिसकेको छैन त्यो पोष्टमार्टमपछि खुल्ला।'
घटनापछि मृतकका बुवा चन्द्रकिशोर यादव र सौतेनी आमा फरार छन्। उनीहरू फरार भएको हुँदा हत्या गरी भागेको हुनसक्ने आधार बलियो भएको विष्टले बताए।
'बालकको आमाले पहिले नै छाडेर गइसकेको रहेछ। अहिले घटनापछि बुवा र सौतेनी आमा फरार छन्,' उनले भने, 'हामीले खोजिरहेका छौं।'
घटनाको खबरपछि ईलाका प्रहरी कार्यालय रामगोपालपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले प्रारम्भिक मुचुल्का सम्पन्न गरेको छ। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।