सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ।
बेवारिसे शवको उचित व्यवस्थापन गर्न बनाएको निर्देशिका सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा कानुनी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
निर्देशिका बनाउन गृहको नेतृत्वमा समिति बनेको थियो।
सो समितिमा गृह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल प्रहरीका प्रतिनिधिहरू थिए। सबैको प्रतिक्रिया, राय तथा सुझावहरू लिएर निर्देशिका तयार पारिएको गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले जानकारी दिए।
सो निर्देशिका तयार भएपछि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो। मन्त्रालयलाई सो निर्देशिका स्वीकृत भएको खबर आएसँगै सार्वजनिक गरिने उनले बताए।
'बेवारिसे शवहरूको पहिचान खुलाउनेदेखि व्यवस्थापन गर्ने विधिहरू उल्लेख गरिएका छन्। विभिन्न घटना हुँदा बेवारिसे शव भेटिन्छन्। ती बेवारिसे शवको पहिचान गर्न अहिले हामीले के-कति खुलाउन सक्छौं त, के-के आवश्यक हुन्छन् भन्ने विधिहरू उल्लेख गरेर निर्देशिका बनाइएको छ,' आचार्यले सेतोपाटीसँग भने।
अहिले बेवारिसे शवको पहिचान खुलाउन नेपाल प्रहरीले तस्वीरहरू तथा विवरणहरू आफ्नो बेवसाइटमार्फत् सार्वजनिक गर्ने गरेको छ। त्यसलाई पनि थप व्यवस्थित बनाउने गरी निर्देशिका बनेको सूचना अधिकारी आचार्यले बताए।
बेवारिसे भनिएका शवको पहिचान खुलाउन सरकार तथा सम्बन्धित निकायले राम्रो पहल तथा कसरत नगरेको भन्दै केही समयअघि चार पुरूषले माइतीघर मण्डलामा धर्ना दिएका थिए।
काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा व्यवस्थापन पढाउने शिक्षक सुगमजंग केसी, नेपाल कमर्स क्याम्पसका शिक्षक बालनकुमार राजवंशी, व्यवसायी सुनिल महर्जन र ठेकेदार भीमप्रसाद ढुंगाना दुई महिना भन्दा बढी धर्नामा बसेका थिए।
उनीहरूले बेवारिसे भनिएका शवको पहिचान गराउन सरकारसँग माग गरेका हुन्।
पहिचान नहुँदासम्म तस्वीर, हुलिया विवरण, बायोमेट्रिकका विवरणहरू राखेर अभिलेख राख्न माग गरेका थिए।
त्यस्तै, प्रहरीको बेवसाइटमा पहिचान खुलाउन सबै विवरण राख्न भनेका थिए।
यो पनि: ७३ दिनदेखि उनीहरू सोध्दैछन्- यी आमा को थिइन्, यी बा को थिए?
बेवारिसे शवको पहिचान सम्बन्धी राज्य व्यवस्थाका पाँच निर्देशन