रूकुम पश्चिममा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का मृत भेटिएकी हुन्।
सोमबार बेलुका ६ बजेतिर भैंसीलाई घाँस हाल्न गोठमा गएकी उनी मृत भेटिएकी हुन्। रातीसम्म पनि नफर्किएपछि परिवार र आफन्तले खोज्ने क्रममा मकै बारीको कान्लामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मृतक खड्काका नाकबाट रगत बगेको भेटिएको छ। भैंसी भएको गोठ घरभन्दा १० मिनेटको दूरीमा रहेको डिएसपी श्रेष्ठले बताए ।
‘मृत भेटिनुभएको उहाँको हत्या हो वा अरु कुनै कारण हो भन्ने खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौं,’ घटनास्थलमा पुगेका प्रहरी प्रमुख श्रेष्ठले भने, ‘हामीले कुकुर पनि मगाएका छौं, कुकुर नआउँदासम्म परिवारसँग कुराकानी गर्दैछौं।’