यसपालिको मनसुनजन्य विपद्का कारण अतिप्रभावित भएको मनाङमा हेलिकप्टरबाट औषधि र खाद्यान्न पुर्याइने भएको छ।
बाढी र पहिरोबाट प्रभावित भएको सदरमुकाम चामेलगायत आसपासका क्षेत्र विपद्का घटना भएको लामो समय बितिसक्दा पनि सडक सञ्जाल जोडिन नसकेपछि सरकारले खाद्यान्न पुर्याउन हेलिकप्टरको प्रयोग गर्न लागेको हो।
शुरुआती चरणमा यहाँ राहतस्वरुप हेलिकप्टरबाट राहत पुर्याइएको तर सडक खुल्न नसक्दा मानिसको जीवन नै जोखिममा पर्ने अवस्था आएकाले हवाइमार्गबाट तत्काल खाद्यान्न र औषधि आपूर्ति गर्ने तयारी गरिएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा समितिका सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री खाँणले सरकारको पहिलो प्राथमिकता नै मानिसको जीउज्यानको सुरक्षा रहेको स्पष्ट पारेका थिए।
उनले जोखिममा परेका मानिसको जनजीवन सहज पार्न मन्त्रालय लागि परेको पनि बताए। ‘मनाङ जिल्ला सदरमुकाम जाने बाटो बन्द छ, प्राविधिकसमेत मोटरबाट जानसक्ने अवस्थामा छैन, मनाङमा नागरिकको जीवन नै जोखिममा छ, सप्लाई सिष्टम नै बन्द भयो। अब हेलिकप्टरबाट सामान पुर्याइने छ,’ उनले भने।
यस विषयसमा सरोकारवाला निकायबीच समन्वय भइसकेको पनि उनले बताए। लत्ताकपडालगायत सामग्री ढुवानी भने महँगो पर्ने भएकाले तत्काल खाद्यान्न र औषधि पुर्याउने गरी योजना निर्माण भएको समितिलाई जानकारी दिए। मनाङमा बाढीपहिराका कारण ५४ किलोमिटर सडकमा क्षति पुगेको छ।
मन्त्री खाँणले अध्ययनका लागि विज्ञ टोलीलाई पनि हेलिकप्टरबाटै लैजाने जानकारी दिए। मन्त्री खाँणले मनाङ र सिन्धुपाल्चोकको जनजीवन सहज पार्ने विषयमा सरकार गम्भीरताका साथ लागेको समितिका सदस्यलाई आश्वस्त पारेका थिए।
दुवै जिल्लालाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुका कारण नै उच्च प्राथमिकतामा राखिएकाले हो भन्दै उनले त्यस क्षेत्रमा विशेष प्याकेज लैजानुपर्ने आवश्यकता औँल्याए।
गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा कसरी गर्ने भन्नेमा नै सरकारको ध्यान रहेको र राज्य प्रणालीको शुरुआत नै त्यसैका लागि भएको बताए। उनले यसपालि विपद् परिकल्पना गरेभन्दा फरकरुपमा आइरहेकोतर्फ सचेत हुन आग्रह गरेका थिए।