निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ ।
मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका – १३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएको छ । आज बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो।
वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।
लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले अवरुद्ध सडक खुलाउन बिहानैदेखि औजार खटाइएको जानकारी दिए । उनले तत्कालै एकतर्फी सडक खुलाउने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।