बर्दियाका निमराज आचार्य बिहीबार राति २ बजे टेकु अस्पतालमा कोरोनाविरूद्धको खोप लगाएको प्रमाणपत्र लिन लाइन लाग्न गए। अस्पताल पुगेर उनी गेट छेउमा बसे। तर त्यहाँका सुरक्षाकर्मीले आचार्यलाई गेट छेउमा बस्न नमिल्ने बताए। त्यसपछि उनी अस्पताल आँगनकै एक कुनामा गएर बसे।
तर बिहीबार दिउँसो साढे २ बजे अस्पताल पुग्दा पनि आचार्यले खोप लगाएको प्रमाणपत्र पाएका थिएनन्। उनी ठेलमठेल भीडको लाइनमा आफ्नो पालो कुरिरहेका थिए।
साउदी जान तरखरमा रहेका आचार्यले सेतोपाटीसँग भने, '२ बजे राति आएर गेटमा सुत्दा यहाँ सुत्न मिल्दैन उता जानुस् भन्नुभो। २ बजेदेखि न खाना खाइएको छ। ३ गते खोप लगाएको मान्छेलाई यति सानो कामले अड्काइराख्नु त भएन नि। दुई-चार पैसा कमाउन विदेश जान लागेको मान्छेलाई होटलमा बस्न, खान समस्या हुन्छ नि।'
आचार्यजस्तै त्यहाँ सयौंको संख्यामा मानिसहरू खोप लगाएको प्रमाणपत्र लिन लाइनमा बसिरहेका थिए।
अस्पतालभित्र त्यतिकै लाइन हुँदा गेट बाहिर पनि त्यति नै संख्यामा मानिसहरू उभिरहेका थिए। प्रमाणपत्र लिने मानिसहरूको अत्यधिक भीड भएपछि गेट बाहिर रहेकाहरूलाई भने सुरक्षाकर्मीले छिर्न दिएका थिएनन्।
झापाका लोकबहादुर गुरूङ पनि बिहानदेखि लाइन बस्दा आफ्नो पालो नआएकोमा सरकारसँग रोष पोखिरहेका थिए।
'हामी कामदारहरूले देशको लागि कति रेमिट्यान्स भित्र्याइयो होला। अनि सरकारले हामीले पाउने सेवाको लागि पनि त केही सोच्दिनुपर्यो नि तर अहिलेसम्म त्यसमा ध्यान गएको देखिँदैन।'
उनले यो प्रमाणपत्रले विदेश पुग्दा त्यहाँ क्वारेन्टिन बस्नु नपर्ने भन्दै झन्डै एक लाख रूपैयाँ पैसा जोगिने बताए।
'यो प्रमाणपत्र भयो भने हाम्रो क्वारेन्टिन बस्दा लाग्ने खर्च बच्छ। झन्डै एक लाख रूपैयाँ पैसा बच्छ। त्यो भनेको हाम्रो लागि धेरै ठूलो रकम हो। त्यो पैसा मैले साहुबाट ऋण काटेर ल्याएको छु,' गुरूङले भने।
गुरूङका जस्तै भीडमा रहेका सबै मानिसहरूको आक्रोश उस्तै थियो। सबै जना प्रमाणपत्र लिनका लागि रातिदेखि नै लाइनमा बसेका थिए।
टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले सरकारले खोप लगाएको प्रमाणपत्र लिने ठाउँ टेकु अस्पताललाई मात्र तोकिदिँदा यस्तो समस्या आएको बताए।
'पहिले प्रमाणपत्र लिनेको संख्या थोरै हुन्थ्यो। त्यसैले टेकु अस्पतालले धान्न सक्थ्यो। अहिले त लाखौं मानिसले खोप लगाएका छन्। लाखौं मानिस वैदेशिक रोजगारीमा जाँदैछन्। त्यसैले अब कामदार बस्ने जिल्ला वा ठाउँमा प्रमाणपत्र लिने सुविधा भयो भने यो सहज बन्छ।'
आज प्रमाणपत्र लिने मानिसहरूको ठेलमठेल भीड भएपछि भोलिदेखि भने अस्पतालले ४८ घण्टाभित्र उडान भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ। त्यसो गर्दा अहिलेको भीड धेरै कम हुने निर्देशक बाँस्तोला बताउँछन्। त्यसबाहेक अत्यावश्यक परेका व्यक्तिहरूलाई पनि प्रमाणपत्र दिइने उनले बताए।
तर अस्पतालले दिएको प्रमाणपत्रले विदेशमा मान्यता पाउँछ/पाउँदैन भन्ने टुंगो छैन। किनभने अस्पतालले दिएको प्रमाणपत्रमा कुनै डिजिटल रिड गर्न मिल्ने कोट राखिएको छैन। मात्र एउटा कागजमा अस्पताल र नेपाल सरकारको छाप लगाएर अंग्रेजीमा खोप लगाएको हो भनेर उल्लेख गरिएको छ।
अहिले धेरै देशहरूले बाहिरबाट आउने खोप नलगाएका कामदारहरूलाई अनिवार्य दुई साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ र क्वारेन्टिनमा बस्दा लागेको खर्च स्वयं कामदारले व्यहोर्ने भनिएको छ। तर खोप लगाएको अवस्थामा भने क्वारेन्टिन बस्नु नपर्ने भनिएको छ। सोही अनुसार अहिले विदेश जाने कामदारहरू खोप लगाएको प्रमाणपत्र लिनलाई तोकिएको ठाउँमा पुग्ने गरेका छन्।
तर सरकारले प्रमाणपत्र लिनका लागि एउटा मात्र ठाउँ तोक्दा कामदारहरूले सास्ती खेपेका छन्।
रातिदेखि नै लाइनमा बस्दा पनि उनीहरूले पालो पाएका छैनन्। त्योभन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना गरिएको छैन। जसले गर्दा संक्रमण त्यहीँबाट पनि फैलिन सक्ने जोखिम छ।
टेकु अस्पतालकै निर्देशक डा. अनुप बाँस्तोलाले अहिले कोरोनाका बिरामीमध्ये धेरै जनामा खोप लगाउन लाइनमा बसेको पाँच दिनपछि लक्षण देखिएको बताए। तर उनी कार्यरत अस्पतालमै बिहीबार खोप लगाएको प्रमाणपत्र लिने मानिसहरूको ठेलमठेल भीड थियो।
डा. बाँस्तोलाले त्यो हुनुको प्रमुख कारण प्रमाणपत्र लिने ठाउँ एउटा मात्र हुनु, अस्पतालको क्षेत्र नै सानो हुनु र स्वयं सर्वसाधारणले नियम पालना गर्न अटेर गर्नु औंल्याएका छन्।