फोटो पत्रकार क्लब, नेपालले अफगानिस्तानको कान्दाहारमा भएको भिडन्तमा मारिएका रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकीको सम्झना सँगै आत्माको चिर शान्तिको कामना गदै १०८ दिप प्रज्ज्वलन गरेका छ।
काठमाडौंको स्वयम्भुनाथ परिसरमा मंगलबार आयोजित श्रद्धान्जली तथा दिप प्रज्वलन कार्यक्रममा नेपाली फोटोपत्रकारहरुले मैनवत्ती तथा दिप बाल्दै सिद्दीकीको सम्झनामा १ मिनेट मौनधारण गरेको थिए।
आफ्नो कर्तव्य निर्वाहको शिलशिलामा अफगानिस्तानको कान्दाहारमा तालिवान र अफगान स्पेसल फोर्सेसबीच भिडन्तको तस्बिर संकलन तथा सम्प्रेषण गर्दागदै गत शुक्रबार मारिएका थिए।
उनी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि भारतको रोयटर्स पिक्चर्स मल्टिमिडिया प्रमुख थिए। सिद्दीकी पछिल्लो दशकका युद्व, संकट र मानवीय संघर्षका उल्लेखनीय फोटो खिचेका थिए भने नेपालमा २०७२ सालमा गएको भूकम्पको समेत उनले कभर गरेका थिए।
सन् २०१८ मा रोयटर्सको टोलीले प्रतिष्ठित पुलिट्जर पुरस्कार जित्दा सिद्दीकी त्यसको एक सदस्य थिए।
‘शाहसी, निडर ,उर्जावान र सधै आफ्नो कर्तब्यप्रति कर्मठ सिद्दीकी दक्षिण एसियाको फोटोपत्रकरिता जगतको एक उदीयमान नक्षत्र थिए। उनको निधनले दक्षिण एशियाली फोटोपत्रकरिताको क्षेत्रमा एक अपुरणीय क्षति पुगेको छ’, फोटो पत्रकार क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक कर्मठ शाहसी फोटोपत्रकार सिद्दीकी नेपाली फोटोपत्रकारहरुको सधै प्रेरणाको प्रतिक रहनेछन। सिद्दीकीको निधनले शोकमा रहेका परिवारजनप्रति सम्पूर्ण नेपाली फोटोपत्रकारहरुको तर्फबाट फोटो पत्रकार क्लब, नेपाल हर्दिक समबेदना ब्यक्त्त गर्दछ।’