बाँकेको कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या भएको छ।
आइतबार बिहान कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर टोलमा ८२ वर्षीया काउली कार्की मृत फेला परेकी हुन्। कार्की सुतेकै ओछ्यानमा हत्या गरिएको अवस्थामा फेला परेकी हुन्।
बाँके प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार कार्कीको टाउकोमा गहिरो चोट देखिएको छ।जसकारण उनको हत्या नै भएको आशंका गरिएको न्याैपानेले बताए।
‘टाउकोमा गहिरो चोट छ,’ उनले भने, ‘त्यसका आधारमा कार्कीको हत्या भएको हो भन्ने प्रशस्त आधारहरू देखिएका छन्।’
प्रहरीले घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ। घटना मध्यरातमा भएको अनुमान छ।
घटना हुँदा कार्कीका दुई छोरा-बुहारी र एउटी छोरी अलग-अलग कोठामा सुतेका थिए।
‘गर्मी भएकाले आमा ढोका खुलै राखेर सुत्ने गरेको छाेराबुहारीले बताएका छन्,’ न्यौपानेले भने, ‘अनुसन्धान जारी भएको हुँदा अहिले के भएको हो भन्ने आधार फेला परिसकेको छैन।’
उनका अनुसार अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ।
हत्यापछि काउलीले लगाएको ४ आनाको तिलहरी र करिब ५ हजार नगद पनि लगेको पाइएको प्रहरीले जनाएको छ।