कपिलवस्तुबाट पेस्तोल र गोलीसहित एक युवा पक्राउ परेका छन्।
कपिलवस्तु नगरपालिका-११ जहदी चोकबाट ‘मेड इन युएसए’ लेखिएको लोडेड पेस्तोल १ थान र गोली ४ राउण्डसहित सोही ठाउँका ३६ वर्षीय माथेश्वर प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो।
युपी५५डब्लु ८३२४ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शुक्रबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
यसैगरी, बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद दा त्रयत्न गर्नु जारसहित तीन जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ५१ वर्षीय टिकाराम थापा, २५ वर्षीय गुमबहादुर राना र ४१ वर्षीय गोपाल थापा रहेका छन्।
उनीहरूको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि पिपराबाट प्रहरी खटिएको थियो।
टिकारामको घरबाट दुई थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा, बारुद, गुमबहादुरको घरबाट १ थान भरुवा बन्दुक तथा गोपालको घरबाट १ थान भरुवा बन्दुक बरामद भएको भण्डारीले बताए।
उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए।
यसैबीच, सुनसरीको कोसी गाउँपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोसी गाउँपालिका-५ का ५० वर्षीय विद्यानन्द यादव र उनका भाइ इन्द्रदेव यादव छन्।
प्रहरीका अनुसार उनीहरूबीच जग्गाको सिमानाबारे विवाद भएको थियो।
विवादका क्रममा शनिबार विद्यानन्दले पेस्तोल देखाएपछि इन्द्रदेवले प्रहरीमा फोन गरेर सुनाएका थिए।
प्रहरी पुग्दा विद्यानन्दको घरभन्दा तीन सय मिटर पूर्व आँपको फेदमा कालो प्लाष्टिकले बेरेर राखेको कटुवा पेस्तोल र एक राउन्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
उनीहरू दुबैलाई प्रहरीले अनुसन्धान गरिरहेको छ।