चितवनको राप्ती-२ का राजकुमार चेपाङको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका चिरणकुमार बुढालाई दोषी ठहर गर्दै जिल्ला अदालत चितवनले नौ महिना कैद हुने फैसला सुनाएको छ।
न्यायाधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै आरोपित बुढालाई नौ महिना कैद, ९ हजार जरिवाना र २ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।
मृतक चेपाङ सहित सात जना स्थानीय निकुञ्ज क्षेत्रमा गत साउन १ गते निगुरो र घुँगी खोज्न गएको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए।
सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँच जना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितले बताएका थिए।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका बुढाको कुटपिट तथा यातनाका कारण राजकुमारको साउन ८ गते मृत्यु भएको थियो।
हुद्दा दर्जामा कार्यरत नेपाली सेनाका कर्मचारी चिरणकुमार बुढाविरुद्ध मृतक राजकुमारका बुवा विष्णुलाल चेपाङले गत भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
साउन ८ गते पीडित परिवारले राजकुमारको मृत्यु निकुञ्ज सुरक्षाकर्मीको कुटपिट तथा यातनाबाट भएको भन्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियो। मृतक राजकुमार चेपाङको बुवाले भदौ २५ गते भने नामै किटेर उजुरी दिएपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो।
मुद्दाका आरोपित बुढालाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको थियो।
मृतकको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले ७ लाख, राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएका थिए।
अति विपन्न सिमान्कृत समुदायका परिवारको लागि राप्ती नगरकै उपप्रमुख इमानसिह लामाले निजी खर्चबाट घरसमेत बनाइदिएका छन्।
सम्बन्धित समाचार :
रिपुमायाको प्रश्न-माछा मार्न खोज्दा सेनाले मान्छे नै मर्ने गरी कुट्नु पर्थ्यो र?