पानामा पठाउँछु भनी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार उदयपुर घर भई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय गणेश राउत भन्ने लोकबहादुर राउतलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
राउतले वैदेशिक रोजगारीको लागि पानामा पठाउँछु भनी नक्कली भिसा बनाई १८ लाख ३५ हजार रूपैयाँ लिएर ठगी गरेको भन्ने ब्युरोमा जाहेरी परेको थियो।
जाहेरीको आधारमा खोजी गरी ब्युरोले उनलाई टोखा नगरपालिका वडा नम्बर १० सामाखुसीबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।