उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी मृत फेला परेकी छिन्।
सोमबार बिहान ८ बजे प्रहरीले ४८ वर्षीय विमला पराजुलीलाई ‘शंकास्पद’ रूपमा मृत फेला पारिएको इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।
उनी संखुवासभाकी हुन्। पराजुलीको शव मुख्य न्यायाधीशको निवास र कार्यालयबीचमा रहेको पानी बग्ने ठाउँमा घोप्टो परेको अवस्थामा फेला परेको हो।
पराजुली कार्यालयबाहिर रहेको अदालतको निवासमा बस्थिन्। तर, उनी कार्यालय समयअगाबै त्यही कसरी पुगिन् र मृत्यु के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।
‘हामीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेका छौं, शव उठाइसकिएको छैन,’ श्रेष्ठले भने, ‘शव उठाइनसकेकाले चोटपटक के कसो हेर्न पाएको छैन।’