अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख ३० हजार खोप काठमाडौं आइपुगेको छ। जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाडौं आइपुगेको हो।
विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले १५ लाख ३० हजार मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताए। उक्त खोप बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे।
जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए पुग्छ। कोभ्याक्समार्फत अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप उक्त खोप प्राप्त भएको हो। यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदूत बेरीले बताए।
‘आज, जोन्सन एन्ड जोन्सन कोभिड १९ खोपको १५ लाख ३० हजार मात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको घोषणा गर्न पाउँदा अमेरिकालाई गर्व छ। यस अनुदानले नेपाली जनताप्रति अमेरिकाको दशकौं पुरानो प्रतिबद्धता पुनः पुष्टि गर्छ र यो कोभिड १९ सङ्कटताका नेपालमा जारी हाम्रो सहयोगको निरन्तरता हो’, राजदूत बेरीले भने, ‘केवल एक मात्रा आवश्यक पर्ने यी खोप अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार हुन् र यिनको एकल उद्देश्य जीवन जोगाउनु हो।’
अमेरिकाले अनुदान सहयोगमा दिएका खोप कोभ्याक्स विश्वव्यापी खोप पहल र युनिसेफसँगको साझेदारीमा आएको हो।
राजदूत बेरीले यी खोपले जीवन बचाउने र यस महामारीबाट बाहिर निस्कन नेपाललाई सहयोग गर्ने मात्र नभई आर्थिक नोक्सानीको पूर्ति गर्न र हाम्रा मित्र परिवारजन, तथा छिमेकीसँग सुरक्षित रूपमा भेट्ने अवसर पुनः प्राप्त गर्न मद्दत गर्ने बताए।
कोभिड महामारीको सुरुवातदेखि अमेरिकाले नेपाललाई सहयोग गरिरहेको राजदूत बेरीले बताए।
‘यो अमेरिकी जनताका तर्फबाट उपहार हो। एक मात्रा लगाए पुत्रे यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरूलाई कोभिड १९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौं’, उनले भने, ‘हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन। हाम्रा सर्तहरू खुला र पारदर्शी छन् जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौं। यस खोपले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्नेछ।’
६ लाख भन्दा बढी अमेरिकी नागरिकले यो रोगबाट ज्यान गुमासकेको भन्दै उनले आफूहरूलाई यस रोगको क्रूरताका बारेमा थाहा छ र यस भाइरसको कुनै सिमाना छैन भन्ने कुरा हामीले बुझेका बताए।
उनले कोभिङ-१९ जस्तो चुनौतीका निम्ति साझेदारी र समतामूलक, विश्वव्यापी प्रतिकार्य आवश्यक रहेको औल्याए। विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृराष्ट्र पनि हो, जसले ग्लोबल फन्ड र विश्व स्वास्थ्य सङ्गठन जस्ता अन्तर्राष्ट्रिय प्रयत्नमार्फत अनुदान सहयोग गरेको छ।