बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
संरक्षित वन्यन्तुका अंगको कारोबार भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।
सोही टोलीले राति पौने ९ बजे गेष्ट हाउसको कोठा नम्बर १०बाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका वडा १ का २९ वर्षीय रोबिन बुढालाई पक्राउ गरेको हो।
उनीहरूको कोठामा राखिएको कालो झोलाबाट एउटा रेडपाण्डाको छाला फेला परेको थियो। त्यस्तै सिरानी मुनीबाट चार वटा भालुको पित्त समेत फेला पारेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।