सनिबार राती सवा नौ बजेदेखि भैरहवाको एक गोदाममा लागेको आगो आठ घण्टापछि बिहान मात्र नियन्त्रणमा आएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो।
रातभर नियन्त्रणमा नआएको आगोलाई आइतबार बिहान ५ बजे मात्र नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
आगो नियन्त्रणका लागि भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगम तथा छिमेकी जिल्लाहरु नवलपरासी र कपिलवस्तुबाट समेत झण्डै डेढ दर्जन दमकललाई परिचालन गरिएको थियो।
डेढ दर्जन बढी दमकलको सहयोगमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ। दुईतले घरमा रहेको प्लाइबोर्ड र फाईबर ग्लासको ठूलो गोदाममा आगलागी भएको हो। घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थाहाले जानकारी दिए।
आगलागीबाट प्लाईबोर्ड र ग्लास हाउस पूर्ण रूपमा ध्वस्त हुँदा पाँच करोड बढीको क्षति भएको प्रहरीको भनाई छ। प्लाईबोर्ड गोदाम रहेको घरको माथिल्लो तल्लामा बसेका पसलधनी सुन्दर अग्रहरिको परिवारलाई भने सकुशल उद्धार गरिएको थियो।