सावित्रा नन्दलाल गौतम स्मृति सेवा समाज (सान) ले संखुवासभाको दुर्गममा रहेको सित्तलपाटी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
खाँदबारी नगरपालिका १० सित्तलपाटीस्थित उक्त स्वास्थ्य चौकीलाई सानले कोभिड- १९ लक्षित स्वास्थ्य सामग्री सहयोग गरेको छ।
शनिबार प्राथमिक स्वास्थ्य केन्द्रमै गएर एक कार्यक्रमबीच उक्त सामग्रीहरू वडाध्यक्ष, चिकित्सक र स्वास्थ्यकर्मीको रोहवरमा संस्थाका तर्फबाट सल्लाहाकार महेशचन्द्र गौतमले स्वास्थ्य चौकीका सह-इन्चार्ज राजेन्द्र खत्रीलाई हस्तान्तरण गरेका हुन्।
कोरोना भाइरस महामारीलाई लक्षित गरी दुर्गममा रहेको यस स्वास्थ्य चौकीलाई संस्थाका तर्फबाट अक्सिजन कन्सन्ट्रेटर, पीपीई, मास्क, सेनिटाइजरलगायत स्वाथ्य सामाग्रीहरू थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको गौतमले जानकारी दिए।
दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले थोरै भए पनि आवश्यक उपकरण तथा सामाग्री सहयोग गरिएको संस्थाका सचिव रविचन्द्र गौतमले जानकारी दिए।
दुर्गमका जनतालाई अकालमा मृत्यु हुन नदिनका लागि आफूले थप स्वास्थ्य सामग्री र औषधिहरू सहयोगका लागि सक्दो प्रयास गर्ने समेत उनले बताए।
‘राम्रो स्वास्थ्य सेवा नपाउँदा एक दिन लगाएर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यतालाई केही हदसम्म यस्तो सहयोगले राहत दिनेछ’, स्वास्थ्य चौकीका सह-ईन्चार्ज खत्रीले भने।
विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण फैलिरहेको अवस्थामा दुर्गम ठाउँमा रहेका अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री भएमा केही हदसम्म सहयोग पुग्ने उनले बताए।
संस्थाले यसअघि पनि विभिन्न ठाउँहरुमा सहयोग गर्दै आइरहेको छ। संस्थाका सचिव गौतमका अनुसार आगामी दिनमा पनि अस्पतालसँग हातेमालो गर्दै सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै स्वास्थ्य सामाग्री लिँदै वडाध्यक्ष थापाले विपद्को बेलामा पनि संस्थाले सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए।
स्वर्गीय समाजसेवी नन्दलाल गौतमको स्मृतिमा गठन भएको संस्थाले लोककल्याणकारी काम गर्ने उद्धेश्य राखेको छ।