बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराबाट कुटपिटमा परेको जुम्लाका युवाको उजुरी प्रहरीले दर्ता गरेको छ।
जुम्लाको सिंजा गाउँपालिका–६ का वडा अध्यक्ष कालीबहादुर बुढाले यातायात, खानेपानी लगायतका विषयमा सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको टिप्पणी गरेको विषयमा उनका छोरा नवीन बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीलाई कुटपिट गरेको जाहेरी प्रहरीमा गएको थियो।
बुधबार नेपालीले जिल्ला प्रहरी कार्यालयमा आफूमाथि भएको कुटपिटको जाहेरी लिएर गएका थिए। तर, प्रहरीले दर्ता गर्नुअघि आधिकारिक बुझ्ने भन्दै दर्ता गर्न मानेको थिएन। प्रहरीले उजुरी दर्ता नगरेपछि पीडितले राष्ट्रिय दलित आयोगमा पनि उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाले शुक्रबार उजुरी दर्ता गरेको पीडित नेपालीले बताए।
‘अस्ति प्रहरीले दर्ता गर्न मानेको थिएन, आज दर्ता भएको छ,’ उनले भने।
वडाध्यक्ष बुढाले आफ्नो अन्तर्वार्तामा गरिएको टिप्पणीको बारेमा छलफल गर्न असार ८ गते दिउँसो ४ बजे आफ्नो कार्यकक्षमा बोलाएका थिए।
कार्यकक्षमा पुग्दा पनि वडाअध्यक्षले आफूलाई होच्याएर कुरा गरेका पीडित नेपालीले बताए।
‘मैले उहाँले दिएको अन्तर्वार्तामा केही झूटा कुरा पनि सुनिएकाले ती झूटा कुरालाई औंल्याएर टिप्पणी गरेको हुँ, यही विषयमा वडा अध्यक्षले मलाई फोनमा गालीगलौज र धम्की पनि दिनुभएको थियो,’ पीडित विवेन्द्र नेपालीले सेतोपाटीसँग भने, ‘यसै विषयमा छलफल गर्न आउनू पनि भन्नुभयो, म कार्यकक्षमा गएर कुरा गरिरहेका बेला उहाँको छोरा आएर मलाई पिट्नुभयो।’
छलफल चलिरहेकै बेलामा वडा अध्यक्षका छोरा नवीन आएर विभेदजन्य गालीगलौज गर्दै गालामा थप्पड हानेको उनले बताए।
उनले त्यसक्रममा आफूमाथि ‘डुम’ शब्द प्रयोग गरेको विवेन्द्रले जाहेरीमा उल्लेख गरेका छन्।
‘सरोकारसमेत नरहेको व्यक्ति आएर ‘तँ सार्की हलुडा बेची खाने डुम, तँ को होस्, जे गर्छस् गर्’ भन्दै एक्कासि म बसिरहेको ठाउँमा आएर आफ्नो हातले दुईचोटि मेरो गालामा हानी, गर्धन निमोठी गर्धनमा समेत दुईचोटि हानेका हुन्,’ उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन्।
यो पनि:
बुवाको अन्तर्वार्तामा टिप्पणी गर्दा वडा अध्यक्षका छोराले गरे युवामाथि कुटपिट