बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।
पूर्वी ढाकाको रूपगन्जस्थित औद्योगिक क्षेत्रको एक खाद्यान्न प्रशोधन गर्ने उद्योगमा बिहीबार साँझदेखि आगलागी भएको थियो। झन्डै २४ घन्टादेखि आगलागी हुँदा कम्तीमा पनि ५२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ।
आगलागी भएपछि केही कामदार भाग्न सफल भए पनि त्यहाँ अड्किएका ५२ जनाले ज्यान गुमाएका हुन्।
प्रहरी तथा प्रत्यक्षदर्शीहरूका अनुसार हशेम फुड एन्ड बेभेरेज फ्याक्ट्रीमा आगलागी सुरू भएको थियो।
'आगलागी नियन्त्रणमा आएपछि हामी भित्र गएर खोजी तथा उद्धारको अपरेसन सुरू गर्छौं। त्यसपछि कोही मृत थपिएको भए त्यसको जानकारी दिन सक्छौं,' अग्नि नियन्त्रण संस्थाका प्रवक्ता देवाशिस वर्धनले भने।
आगलागीमा परी अन्दाजी झन्डै ३० जना मानिस घाइते भएका छन्। सुरूमा प्रहरीले तीन जनाको मात्रै मृत्यु भएको जानकारी गराएको थियो। तर पछि अग्नि नियन्त्रकहरू भवनका माथिल्ला तलामा जाँदै गर्दा मृतकको संख्या ह्वात्तै बढेको हो।
ढाकाका फायर डिपार्टमेन्टका प्रमुख दिनुमोनी शर्माका अनुसार भवनमा जम्मा गरी राखेको विभिन्न रसायन तथा प्लास्टिकहरूका कारण ठूलो आगोलागी भएको हो।
भित्र कति जना फसेका थिए भन्ने कुरा अहिले खुलिनसकेको प्रहरीले जनाएको छ।