चितवनको माडीमा रिउ र अन्य खहरेमा आएको बाढीले जनजीवन प्रभावित बनेको छ। बुधबार रातिदेखि परेको अविरल वर्षासँगै बाढी आउँदा नजिकका बस्तीमा डुबान पर्न थालेका छन्।
बाढीका कारण माडीका १५ घर डुवानमा परेरका छन्। बाढीको डुवानमा परेका र जोखिममा रहेकाहरू इलाका प्रहरी कार्यालयमा आश्रय लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो।
रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन्। खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले रतनी खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको छ। त्यहाँका घरहरूमा पानी पस्न थालेको छ।
माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ। मगइ खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अवरूद्ध बनेको प्रहरीले जनाएको छ।