अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू विद्रोही तालिवान समूहविरूद्ध हतियार बोकेर सडकमा निस्किएका छन्।
अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि पछिल्लो समय तालिवानले अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई नियन्त्रणमा लिएका छन्।
कट्टरपन्थी तालिवानविरूद्ध सयौं महिलाहरू राइफल बोकेर सडकमा निस्किएका हुन्। उनीहरूले हतियारसहितका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। सडकमा उनीहरूले हतियार देखाउँदै तालिवानविरोधी नाराहरू पनि लगाएका छन्।
सडकमा निस्किएका महिलाहरूसँग देशव्यापी रूपमा तालिवानविरूद्ध अग्रपंक्तिमा गएर लड्न सक्ने अनुभव त छैन तर उनीहरूको प्रदर्शनले तालिवानको सम्भावित शासनबारे उनीहरू कति त्रसित छन् भन्ने देखाउँछ।
‘केही महिलाहरू सुरक्षाकर्मीलाई हौसला दिन प्रतीकात्मक रूपमा हतियार बोकेर सडकमा निस्किएका हुन् तर धेरै महिलाहरू त युद्ध मैदानमै जान तयार छन्,’ घोर प्रान्तमा महिला प्रदर्शनको नेतृत्व गरेका हालिमा पारास्तिसले भनेकी छन्,‘युद्ध मैदानमा जानेमध्ये म पनि हुँ। हामीले यसअघि नै यहाँको गभर्नरलाई हामी लड्न तयार छौं भनेर जानकारी गराइसकेका छौं।’
अफगानिस्तानमा महिलाहरू यसरी हतियार बोकेर सडकमा निस्कने घटना बिरलै हुन्छन्।
समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन्।
उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ। शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए।
भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको भनाइ छ।
२० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ। यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो। अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन्।
कतिपय ठाउँमा भने सरकारी सुरक्षाकर्मीहरूले आत्मसमर्पण गरिरहेका छन्।
केही ठाउँमा त तालिवानी लडाकुहरूले सुरक्षाकर्मीलाई घरसम्म जान पैसा दिएको भिडिओ पनि सार्वजनिक भएका छन्। यसले सुरक्षाकर्मीलाई ज्यान जोखिममा नराखिकनै जागिर छोड्न सकिने आत्मविश्वास दिएको छ।
उत्तरी प्रान्त बादखसानका प्रदेश काउन्सिल सदस्य मोहिब उल रहमानले महत्वपूर्ण सामानको अभावमा खटिएका सुरक्षाकर्मीको कमजोर आत्मबलका कारण पनि तालबानीहरूलाई सजिलो भएको बताएका छन्।
‘दुर्भाग्यवश, धेरैजसो जिल्लाहरू बिनालडाइँ तालिवानलाई छोडिएको छ,’ रहमानले एपीसँग भने।
तालिवानहरूले अहिलेसम्म कुनै प्रान्तीय राजधानी भने नियन्त्रणमा लिएका छैनन्। तर जसरी उनीहरू अघि बढिरहेका छन् त्यसले छिटै बादखसानको राजधानी नियन्त्रणमा लिन सक्ने सम्भावना छ।
ट्विन टावरमा आक्रमण भएपछि सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा सैनिक पठाएको थियो। तालिवानहरूलाई अपदस्त गरी आफूअनुकूलको सरकार बनाएको अमेरिकाले दुई दशकपछि अफगानिस्तानको भविष्य अन्यौलमा राखेर सैनिक फिर्ता लैजान लागेको हो।