अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।
सेतीदोभानमा पहिरो खसेको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।
एक सातादेखि यो सडकखण्डमा पहिरो खस्ने क्रम बढेको छ। पहिरोका कारण यात्रुले दु:ख पाएका छन्। ढुंगासहित खसेको पहिरोले सवारी साधनमा क्षतिसमेत पुर्याउने गरेको छ।
प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै आएको छ। सेतीदोभानमा पहिरो खसेपछि दुबैतर्फ सडक अवरूद्ध छ भने खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
पृथ्वी राजमार्ग पनि अवरूद्ध
पृथ्वी राजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध भएको छ।
म्याग्दे गाउँपालिका वडा नम्बर ४ मा बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।