सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ।
ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्णबहादुर स्यङ्बोको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
प्रहरीले सोही ठाउँका ५८ वर्षीय पाल दोर्जे स्याङ्तानलाई मंगलबार राति पक्राउ गरेको हो।
पुरानो रिसिइबीको कारण विवाद हुँदा दोर्जेले कृष्णबहादुरमाथि चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका कृष्णबहादुरलाई उपचारको लागि लालबन्दीस्थित मोडेल अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि जनकपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हत्या आरोपित स्याङ्तानलाई प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।