रूपन्देही प्रहरीले स्रोत नखुलेको झण्डै ३२ लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब पौने दुई बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सोही स्थानका २१ वर्षीय विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर चेक गरेको थियो।
उनले बोकेको कालो झोलाबाट ३१ लाख ९० हजार रूपैयाँ फेला परेको प्रहरी उपरीक्षक केसीले बताए।
प्रहरीले सोही स्कुटरमा सवार भारत उत्तरप्रदेश नौतनवाका ३५ वर्षीय सुरन गौणलाई पनि पक्राउ गरेको छ।
उनीहरूमाथि थप अनुसन्धान गर्न स्कुटरसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।