बैंकिङ कसुरका फरार प्रतिवादीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७का ५९ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार चक्रपथबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा ७ दिन कैद र १५ लाख जरिवाना सजाय तोकिएको छ।
उच्च अदालत पाटनले गत माघ ९ गते सो सजाय सुनाएको थियो। सजाय ठहर भए पनि बेरुजु भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
सजाय कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
लाक्पा लामाले २०७५ सालमा व्यापार गर्ने भनी विकास थापा भन्ने व्यक्तिसँग १५ लाख रूपैयाँ लिएका थिए। तर फिर्ता गर्नेबेलामा आफूसँग खातामा पैसा नभएको थाहा पाएर पनि चेक काटेर थापालाई दिएका थिए।
त्यसपछि उनीविरूद्ध उजुरी परेको थियो।