ललितपुर महानगरपालिकाले आजबाट उपत्यकामा जोरविजोर प्रणाली हटेसँगै लगनखेलको प्रयागपोखरी इति टोलहुँदै कुमारीपाटी जाने सडक एकतर्फी बनाएको छ।
बढ्दो सवारी चापलाई ध्यानमा राखेर महानगरले बिहान ८ बजेदेखि साँझ ८ प्रयाग पोखरीबाट इतिटोल हुँदै कुमारीपाटी, जावलाखेल आउने बाटो एकतर्फी बनाएको छ।
ग्वार्कोबाट कृष्ण मन्दिर आउने एकतर्फी भएसँगै गाडीहरू प्रयाग पोखरीबाट इति टोलहुँदै कुमारीपाटी आउने गरेका थिए।
पछिल्लो समय बढेको सवारी चापलाई यो सडकले धान्न नसक्ने निष्कर्ष निकाल्दै महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा यो सडक एकतर्फी बनाएको हो।
अत्याधिक जाम हुने यो क्षेत्रमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म सबै सवारीसाधन वान वे गरिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
‘महानगर भित्रको सवारी चाप र साँघुरो बाटोका कारण सवारी आवागमनमा उत्पन्न समस्या न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिकाबीच भएको समन्वयका आधारमा प्रयाग पोखरीचोकबाट इतिटोलहुँदै कुमारीपाटीतर्फ जाने सबै सवारी साधनहरू असार २२ गते सोमबाट लागू हुने गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रवेश निषेध गरेका छौ,’ महानगर प्रमुख महर्जनले भने।
उनले पैदल यात्रीलाई अवरोध हुने गरी सडक पेटीमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही स्वरुप जरीवाना प्रकृयासमेत चाडै सुरू गरिने जानकारी दिए।
यो क्षेत्रमा पिक आवरमा एक मिनेटमा ५६ वटा मोटरसाइकल र ७ वटा चार पाङ्ग्रे चल्ने, इतिटोलतर्फको बाटो पनि अति नै साँघुरो, पैदल हिँड्ने यात्रुका लागि पेटी नभएकाले सडकबाटै हिड्नुपर्ने, दुई वटा गाडी पनि पास नहुनेलगायतका समस्या भएकाले वान वान वे गर्नुपरेको महानगरले जनाएको छ।
प्रयागपोखरीबाट कुमारीपाटी आउने सवारीले अब लगनखेल बसपार्क भएर जानुपर्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
यसअघि ललितपुर महानगरपालिकाले पाटन मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने सबै किसिमका सवारी साधन वान वे बनाइसकेको छ।
महानगर भित्रको सवारी चाप र साँघुरो बाटोका कारण सवारी आवागमनमा उत्पन्न समस्या न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिकाबीच भएको समन्वयका आधारमा महापालचोकबाट ईखालखुतर्फ जाने सबै सवारी साधनहरू गत फागुन १८ गतेबाट बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म प्रवेश निषेध गरेको थियो।
त्यसअघि महानगरले पाटन ढोका क्षेत्र वान वे गरेर ट्राफिक जाम हटाइसकेको छ।
ललितपुरका विभिन्न पुरातात्विक महत्वका मठ मन्दिर भएका स्थानलाई क्रमशः वान वे गरेर सवारी साधन व्यवस्थित पारिने महानगरले योजना रहेको हाछेथुले जानकारी दिए।
महानगरको यस्तो निर्णयले हजारौं मान्छेलाई समयमै गन्तब्यमा पुर्याउन सघाउने हाछेथुले दाबी गरे।
यसअघि नगर प्रहरी प्रमुख हाछेथु आफू ललितपुर ट्राफिक प्रहरी प्रमुख भएको बेला ग्वार्कोदेखि मंगलबजार क्षेत्र वान बनाएका थिए। ग्वार्कोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटोमा ‘वान वे’ लागू भएसँगै यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ।
यसैबीच महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सयौंको संख्यामा सडकहरु रहेको भन्दै कुन–कुन सडकलाई वान वे बनाउने भनेर अध्ययन गर्न ट्राफिक प्रहरीसमेतको संलग्नतामा एउटा कमिटि बनाइएको जानकारी दिए।
उनले बढ्दो सवारी चापका कारण भित्रि र बिजी सडकलाई क्रमशः वान वे घोषणा गर्दै लैजाने बताए।
महानगरपालिकाले यसअघि नै महनगरका भित्री सडकमा स्पिड ब्रेकर हटाइसकेको छ। सवारीको गति नियन्त्रण गर्न बनाइएको भए पनि स्पिड ब्रेकरका कारण दुर्घटना बढेको भन्ने जनगुनासो आएपछि महानगरले स्पिड ब्रेकर हटाएको हो।
महानगरले पुराना स्पिड ब्रेकर हटाइसकेको र नयाँ बन्ने र मर्मत हुने सडकमा स्पिड ब्रेकर नराखिने बताएको छ।
त्यस बाहेक सडकमा बत्ति राख्ने, ट्राफिक संकेतहरु राख्ने लगायतका काम पनि गर्न लागिएको उनले बताए।
मेयर महर्जनले आफूहरू जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधि भएकाले जनताको दुःखलाई सम्बोधन गर्दै जाने बताए। ‘आफूले निर्वाचनकै बेला महनगरलाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यसैले महानगरका सडक व्यवस्थित नहुँदा जनताले दुःख पाएको गुनासो गरेपछि क्रमशः हामी सडक व्यवस्थित गर्न लागि परेका हौं।’
उनले महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए। ‘सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो । यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ।’
नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थिततार सुधारका काम आफूहरुले गरिरहेको जानकारी दिए।