महिनौंसम्म चेक अनादरको जाहेरी लिएर जाँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साले दर्ता गर्न अस्वीकार गरेको छ।
पर्सा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २३ का ३७ वर्षीय महमद आरिफ देवानले विघटित प्रतिनिधिसभाका समानुपातिक सांसद चाँद तारा कुमारीविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
सांसद चाँद कुमारी ताराले आफ्नो छोरालाई क्यानडा पढाउन पठाउनको लागि रकमको आवश्यकता परेको भन्दै देवानको १२ लाख रूपैयाँ लिएको आरोप छ। एक महिनाभित्र रकम फर्काउने भने पनि पछि आफ्नो खातामा पैंसा नभएको थाहा पाएर पनि चेक काटेर दिएकी थिइन्।
त्यसरी बैंकिङ कसुर गरेको भन्दै देवान गत माघ मै जाहेरी लिएर कार्यालयमा पुगेका थिए। तर प्रहरीले सांसदविरूद्ध जाहेरी लिन नमानेको र आलटाल मात्रै गरेको देवानले सेतोपाटीलाई बताए।
‘५ महिना अघि नै प्रहरी कार्यालयमा गएको थिएँ। तर उहाँहरूले विभिन्न बहाना दिएर दर्ता गर्न मान्नु भएन। २० दिन पछि आउनुस्, १० दिन पछि आउनुस् भनेर भन्नुभयो,’ देवानले भने, ‘शुक्रबार पनि गएर मैले एसपी साबसँग भेटेँ। उहाँले तोक लगाइदिनुभयो। तर पछि मुद्दा फाँटमा लिएर जाँदा म्याद गुज्रियो भनेर जाहेरी फाड्नुभयो।'
बैंकिङ कसुरको मुद्दामा कसुर भएको थाहा पाएको मितिले एक वर्षभित्रमा जाहेरी दिन सक्नेछ। तर प्रहरीले सुरूमा आलटाल गरी मुद्दा दायर नगरेको र पछि हदम्याद नै गुज्राएको देवानले बताए।
पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले भने निषेधाज्ञाको कारण दर्ता गराउन नसकेको जिकिर गरे।
'पाँच-छ महिना अगाडि नै आउनुभएको थियो। दुबैतर्फको जाहेरी आएको छ। उताबाट पनि चेक चोरी भएको भन्ने थियो। पिए र सांसद हुन्,' उनले भने, 'हामीले के रहेछ भने बोलाएका थियौं। तर उपस्थित नभएपछि बैंकिङ कसुरमा सिधै अदालत जान मिल्ने भएकोले त्यहाँ जान सुझाव दियौं। एउटै विषयमा दुई वटा दाबी आएपछि भेरिफाइ गर्नुपर्ने हुन्छ। तै पनि बैंकिङ कसूरको मुद्दा अदालतमै दर्ता गर्ने भन्ने हिसाबमा आयो बीचमा लकडाउनहरू भएको हुनाले अदालत पनि बन्द थियो। त्यही कारणले भएन।'
सोही मुद्दा आइतबार पर्सा जिल्ला अदालतमा दर्ता भएको छ।
देवान र सांसद ताराबीच पहिले देखिनै चिनजान थियो। देवान १२ महिनाको लागि सांसदकी पिएसमेत भएका थिए।