कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने सम्झौता गरेको विराटनगरस्थित विराट मेडिकल कलेजले संक्रमितबाटै पैसा असुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अस्पतालले पाउने सोधभर्ना निकासा नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ।
सम्झौता अनुसार संक्रमितको नि:शुल्क उपचार गर्नुपर्नेमा अस्पतालले सो विपरित कार्य गरेको भन्दै सोधभर्ना नदिन प्रशासन कार्यालयले आग्रह गरेको हो। यसअघि संक्रमितको आफन्तले नियमविपरित शुल्क लिएको भन्दै अस्पतालविरूद्ध उजुरी दिएका थिए।
उजुरीपछि जिल्ला प्रशासन कार्यालयले विराट मेडिकल कलेजलाई स्पष्टीकरण सोधेको थियो। तर प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि कार्यालयले दोस्रोपटक अस्पतालसँग स्पष्टीकरण सोधेको थियो। दोस्रोपटक भने अस्पतालले कुनै जवाफ दिएन। त्यसपछि भने कार्यालयले अस्पतालले पाउने सोधभर्ना नदिन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ।
अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भनेर मन्त्रालयसँग सम्झौता गरेको हो। सुरूमा कुल ८३ वटा अस्पताल, मेडिकल कलेजसँग सम्झौता गरेको सूचीमा विराट मेडिकल कलेज पहिलो नम्बरमै छ। तर अस्पतालले भने विरामीबाटै शुल्क असुल्दै आएको छ।
यसअघि कोरोनाका कारण मृत्यु भएका सुनसरी इनरुवा-२ का रामजी महतोको परिवारसँग अस्पतालले चार लाख रुपैयाँ असुलेको थियो। पछि मृतक महतोका छोरा नितेशले अस्पतालविरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए। पछि अस्पतालाई असुलेको बढी रकम फिर्ता गर्न निर्देशन पनि दिइयो तर अस्पतालले महतो परिवारलाई एक रुपैयाँ पनि फिर्ता गरेको छैन।