विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ।
बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ। यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ।
बिहान मापन गरिएको बहाव यो वर्षकै उच्च हो।
नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ। नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ। पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो। वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ।
पाँच सय घर डुबानमा
लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन्। हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेको छ।
उक्त नगरपालिकाको वडा नम्बर ९, १०, ११ र १२ का करिब ३ सय घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो। त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करिब २ सय घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए। उहाँका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ।
केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन्।
बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए। चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उहाँले बताउनुभयो। नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे।
खाँडो नदी तटबन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ। २०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका-४ का एक बालकको ज्यान लिएको थियो भने हजारौं घरमा क्षति पुर्याएको थियो।
त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौं खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुवानमा पर्दा ठूलो धनजानको क्षति हुने गरेको पाइएको छ। यस्तै सप्तरीको सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौं गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुबानमा पर्ने गरेको पाइएको छ। रासस