चौँरीगोठमा सुत्केरी व्यथा लागेकी एक जना महिलालाई नेपाली सेनाले आज उद्धार गरेको छ।
गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ ठूलोस्याफ्रुकी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले स्ट्रेचरमा बोकेर उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्याएको हो।
छट्पटीमा परेकी दिदीलाई अस्पताल लाने जनशक्ति नभएपछि उनका भाइ रेञ्जेनले चन्दनबारीस्थित नेपाली सेनाको पोष्टसँग सहयोग मागेका थिए। जङ्गलमा छट्पटीको सूचना पाउँदा करिब १० सैनिक परिचालन गरी तत्काल अस्पताल पुर्याइएको सेनाले जनाएको छ।
सैनिकले अस्पताल पुर्याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको अस्पतालले जनाएको छ। रासस