पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा ट्राफिक प्रहरीले यातायातको साधनका कागज पत्र चेकिङ गर्ने क्रममा मंगलबार साँझ लागुऔषध बरामद गरेको छ।
निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बा र ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरको संयुक्त टोलीले राजमार्गमा चेकिङ गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
साँझ ६ बजे बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे६प ७५६९ स्कुटरलाई ट्राफिक प्रहरीले रोक्यो। स्कुटरमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ का नवीन लिम्बु सवार थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले लिम्बुको साथबाट डाइजोपम ९९ थान, फेनारगन-९९ र नाम उल्लेख नभएको सिसी रातो घेरा भएको ९९ थान भएङ्को बताए।
लिम्बु सवार स्कुटीको कागज पत्र र सवारी चालक अनुमति पत्र ट्राफिक प्रहरीले मागेपछि उनी प्रहरीको फन्दामा परेका थिए।
लिम्बुसँग स्कुटरको कागजपत्र र सवारी चालक अनुमति पत्र साथमा थिएन। इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी नायब निरीक्षक भुवन कार्की र ट्राफिक प्रहरी पोस्ट लक्ष्मीपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठसहितको टोली चेकिङमा थियो।
बरामद गरिएको लागुऔषधसहित लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनी पठाइएको प्रहरीले बताएको छ।
यता लागुऔषधसहित पक्राउ परेका लिम्बुले विर्तामोड नजिक आँखा शिविरबाट यो वस्तु आफूले दमकसम्म लैजानका लागि ल्याएको बताए। ‘मलाई एक जना दाइले पाँच हजार रूपैयाँ दिन्छु भनेर यो वस्तु ल्याएको हुँ,’ उनले भने।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले घटनाको बारेमा अनुसन्धान हुने बताए।