काठमाडौंकै सडक कालोपत्र नभएर अलपत्र रहेपछि सडक विभागमा तालाबन्दी गर्न पुगेका वडाध्यक्ष नै पक्राउ परेका छन्।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराईसहितलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरू सडक अलपत्र रहेको भन्दै छिटो कालोपत्र गर्न माग गर्दै सडक विभाग बबरमहलमा आइतबार पुगेका थिए।
सडक विभागमा तालाबन्दी गर्न लागेको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
वडाध्यक्षसहित १५ जना स्थानीयलाई नियन्त्रणमा लिइएको थियो। केहीबेरपछि उनीहरूलाई छाडेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले वडाध्यक्षसहितलाई छाडिसकेको बताए।
‘१५ जनालाई नियन्त्रणमा लिएका थियौं। पछि थप चार जना आउनुभयो। छलफल गरेर उहाँहरूलाई छाडिसकिएको छ,’ उनले सेतोपाटीसँग भने।
वडा नम्बर १२ को कप्पन, खरिबोट सडक क्षेत्रमा २०७२ सालदेखि नै सडक विग्रेको छ। पानी परेपछि सडक हिलाम्मे हुँदा आवतजावतमा कठिनाइ भइरहेको छ।
निर्माण व्यवसायीलाई तत्काल काम थाल्न निर्देशन दिन सडक विभागलाई जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन्।