प्रदेश दुईको पर्सा र रौतहट जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान करिब साढे ७ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर टोलका ६५ वर्षीय राजेश्वर साह तेलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
मृतकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको खनालले जानकारी दिए।
त्यसैगरी, रौतहटको परोहा नगरपालिका वडा नम्बर २ जिंगडवा बेलबिछुवाका ३५ वर्षीय शेख जमसैदको समेत चट्याङले मृत्यु भएको छ।
बिहान ७ बजे पानीसहित परेको चट्याङले घरबाहिर डुलिरहेका जमसैद गम्भीर घाइते भएका थिए।
गम्भीर भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।