प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाले एक अर्ब ३८ करोड ४६ लाख रूपैयाँ वार्षिक बजेट विनियोजन गरेको छ।
असार १० गते नगरसभामा उपप्रमुख गीता अधिकारीले पेश गरेको नीति तथा कार्यक्रममा बजेटका विनियोजनका चार आधार तय गरिएको उल्लेख छ। जसमा वडा अथवा टोलको जनसंख्यालाई ४० प्रतिशत अंक भार दिइएको छ भने क्षेत्रफललाई ३५ प्रतिशत दिइएको छ।
यसैगरी, गरिबीको सूचकांकलाई १० प्रतिशत अंकभार दिइएको छ भने राजश्व संकलन प्रगतिलाई १० प्रतिशत अंकभार दिइएको छ।
नीति तथा कार्यक्रममा बजेट निर्माणमा तलबाट माथि जाने प्रणाली अपनाइएको उल्लेख छ।
‘कोरोना भाइरसको महामारीका कारण भौतिक रुपमा उपस्थित भई पूर्वयोजना गोष्ठीमार्फत् सुझाव लिन नसकिएको भए तापनि विद्युतीय माध्यमबाट सुझाव आह्वान गरिएको थियो,’ नीति कार्यक्रममा भनिएको छ, ‘हामीले अवलम्बन गरिएको प्रणाली तलबाट माथि जाने भएकोले परिस्थितिजन्य चुनौतीलाई सामना गर्दै टोल, बस्ती र वडास्तरबाटै सहभागितात्मक विधिबाट नीति, कार्यक्रम र बजेटलाई सकेसम्म यर्थाथपरक र जनमुखी बनाउने प्रयास गरिएको छ।’
बजेट विनियोजन गर्दा स्थानीय बासिन्दाबाट आउने सक्ने गुनासो कम गर्न वैज्ञानिक तरिका अपनाइएको उपप्रमुख अधिकारीले बताइन्।