धनुषामा बुवाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बिहान धनुषाधाम नगरपालिका वडा नम्बर १ काशीपुरका ७५ वर्षका बिसो यादव घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए। बिहान घर परिवारले बोलाउँदा नबोलेपछि हेर्न जाँदा मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।
प्रहरीलाई खबर भएपछि घटनास्थल पुग्दा उनको टाउकोमा गहिरो चोट लागेको देखिएको थियो। प्रहरीले उनको हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ३५ वर्षीय श्रीकिसुन यादवलाई पक्राउ गरेको छ।
'हामीले बिहान साढे ५ बजेमात्रै थाहा पाएका थियौं। घटना राति १-२ बजे भएको हो,'प्रहरी निरीक्षक ठाकुरले भने,'अनुसन्धान गरेपछि हामीले उनका कान्छो छोरालाई नियन्त्रणमा लिएका छौं।'
मृतक यादवका तीन जना छोरा छन्।
प्रहरी निरीक्षक ठाकुरका अनुसार अंश विवादका कारण श्रीकिसुन यादवले आफ्नो बुवाको हत्या गरेका थिए।
'पारिवारिक विवाद हो। बुवाले सबैलाई अंश दियो तर मलाई दिनलाई छ कि छैन भन्ने खालको कुरा गर्दा खेरी त्यही कारणले हत्या गरेको हो कि भन्ने बुझिन्छ,' प्रहरी निरीक्षक ठाकुरले भने।
प्रहरीले घटनास्थलबाट मसला कुट्ने करिब १२ इन्चको खल बरामद गरेको छ। त्यसैले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ।
बिसो यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।